संस्मरण : १२ नम्बर रेलको यात्री

मस्को पुगेपछि सबैभन्दा पहिले कहाँ जाने ?

Above Article Ad
  • Above Article Content Ad
  • रूसको यात्रा गर्न रहर गर्ने धेरैको प्रश्न हुन्छ, ‘मस्को पुगेपछि सबैभन्दा पहिले कहाँ जाने ?’ मैले भन्ने गरेको छु, ‘साम्यवादी सिद्धान्तमा विश्वास गर्नुहुन्छ भने क्रेमलिन नजिक राखिएको भ्लादिमिर लेनिनको शव हेर्न नछुटाउनुस् । साहित्यमा रूचि राख्नुहुन्छ भने यास्नाया पोल्याना पुगेर लियो टोल्स्टोयको सङ्ग्रहालय घुम्नुस् ।’

    रूस भ्रमणमा आउने कमै साहित्यकार होलान्, जसको मनले मस्कोबाट १७५ किलोमिटर टाढा अवस्थित यास्नाया पोल्याना नघुमी फर्किन मानोस् । कैयौं नोबेल पुरस्कार विजेता साहित्यकारहरुले यास्नाया पोल्याना पुगेर आफू धन्य भएको प्रतिक्रिया त्यसै दिएका होइनन् ।

    लियो टोल्स्टोयका प्रिय पाठकलाई त उनको जीवनकाल बितेको यो ठाउ ‘तीर्थ’ समान नै हुने भइहाल्यो । टोल्स्टोयको जीवनी मात्रै पढेका र उनको योगदान मात्रै थाहा पाएकालाई पनि उनी श्रद्धाका पात्र भइहाल्छन् । त्यसैले त प्रत्येक दिन हजारौंको भीडले यास्नाया पोल्याना भरिन्छ । टोल्स्टोयको मृत्युको एकसय वर्षपछि पनि उनीप्रति सम्मान दर्साउँदै उनको जीवनबारे जान्न खोज्ने मान्छेको कमी छैन । रूसी विद्यार्थीहरुले जीवनमा एक पटक भए पनि उनी लिखित ‘युद्ध र शान्ति’, ‘इभान इल्विचको मृत्यु’ र ‘अन्ना करेनिना’लगायत कृति पढनुपर्छ र यास्नाया पोल्यानाको भ्रमण गर्नुपर्छ भन्ने त मान्यता नै बनेको छ ।

    Article inline ad #1
  • विशालकाय युद्ध र शान्ति विश्व साहित्यकै महत्त्वपूर्ण कृति मानिन्छ । सन् २००० मा विश्वप्रसिद्ध पत्रिका न्युजविकले गरेको साहित्य सर्वेक्षणले पनि यो पुस्तकको महत्त्व झल्काएको थियो । त्यो सर्वेक्षणमा विश्वका सय ओटा उत्कृष्ट पुस्तकमध्ये पाठकहरुले ‘युद्ध र शान्ति’ (वार एण्ड पिस)लाई पहिलो नम्बरमा छनोट गरेका थिए । सर्वेक्षणमा यो सर्वकालिक पुस्तकका पाठकले यसभित्रका ५ सय १८ जना पात्र र तत्कालीन रूसको चित्रण गर्ने यस्तो पुस्तक संसारमा यसअघि कहिल्यै नलेखिएको र सायद यसपछि पनि कहिल्यै नलेखिने कुराको उल्लेख गरेका थिए ।

    सन् २०१३ मा बिबिसीको ‘सर्भे अफ द बिग रिड’मा विश्वका एक हजार महान् पुस्तकमा युद्ध र शान्ति २० औं नम्बरमा परेको थियो । टोल्स्टोयको मृत्यु भएको सय वर्षभन्दा बढी भइसक्यो । यी वर्षमा उनका कति कृतिहरु संसारका कति भाषामा अनुवाद भए र उनका कृति कति बिक्री भए, त्यसको कुनै हिसाब-किताब छैन । यत्तिचाहिँ भन्न सकिन्छ, उनी विशाल रूस र यसभित्रका अनेक मानवीय भावनालाई सूक्ष्म ढङ्गले उतार्न सक्ने भाषाका महान् कारिगर मात्रै होइनन्, सर्वकालीक बेस्ट सेलर लेखक पनि हुन् ।

    स्कुले जीवनमा मैले टोल्स्टोयका केही उपन्यासका सङ्क्षिप्त संस्करण स्वाद मानीमानी पढेको थिएँ । नेपालबाट इन्जिनियरिङको छात्रवृत्ति पाएर रूस पुगेपछि उनका अन्य केही पुस्तक पनि पढ्ने मौका पाएँ । सायद बोध क्षमताको कमीले पनि होला, विद्यार्थीकालमा मैले लियो टोल्स्टोयलाई पढेर पनि गहिरोसँग बुझ्न सकिनँ ।

    सन् १९८७ मा पहिलो पटक रूसी भाषाको विद्यार्थी छँदा म यास्नाया पोल्याना पुगेको थिएँ । विद्यार्थीकाल पछिका वर्षहरुमा रूसी समाजसँग घुलमिल हुँदै जाँदा म उत्साहपूर्वक उनका कृतिहरु पढ्दै गएँ र त्यसको स्वाद पनि पाउँदै गएँ । त्यसपछिका वर्षहरुमा मैले यास्नाया पोल्यानाको भ्रमण गरिरहें । कहिले परिवारका साथमा, कहिले नेपाली साहित्यकारका साथमा र कहिले रूसस्थित नेपाली साथीहरूसँग । जतिपटक पुगे पनि यो विशाल हरियाली क्षेत्रले मलाई नयाँनयाँ ज्ञान दिइरह्यो । र मेरा लागि यास्नाया पोल्याना निरन्तर धाउने धामजस्तै बन्यो । त्यसैले होला सायद जबजब २० नोभेम्बरको दिन आउँछ, म टोल्स्टोयको स्मृति दिवसको छेको पारेर फेसबुकमा भए पनि केही न केही लेख्ने प्रयास गर्छु ।

    Article inline ad #2
  • सन् २००९ मा उनको विषयमा निर्मित ‘द लास्ट स्टेसन’ नामक सिनेमा मैले दोहोर्याएर हेरें । लियो टोल्स्टोयको सोच, शैली, उनको महानता र उनको अन्तिम बिदाइलाई झल्काउन यो चलचित्र काफी छ । यो चलचित्रमा टोल्स्टोयले बोलेको एउटा वाक्य मलाई सधैं याद आइरहन्छ । उनले भनेका थिए, ‘मेरो परिचयमा १२ नम्बर रेलको एक यात्री मात्र लेख्नुहोला । हामी सबै रेलका यात्री हौं । यसमा कोही फर्कने यात्रामा प्रवेश गर्छन् । तर म चाहिँ नफर्कने अनन्त यात्रामा निस्केको छु ।’

    जीवनको उत्तरार्द्धमा आइपुग्दा टोल्स्टोय सांसारिक मायामोहप्रति बैरागी हुँदै गएका थिए । कतिसम्म भने कुनै बेला आफूलाई अगाध माया गर्ने श्रीमती सोफिया सँग पनि उनी झगडा गरिरहन्थे । उनी सांसारिक सम्पत्ति र ख्यातिबाट टाढा हुन चाहन्थे र आफ्ना कृतिको लेखकस्व मात्रै होइन, सम्पूर्ण पुस्तकको अधिकार सरकारलाई दिन चाहन्थे । यता श्रीमती सोफिया र परिवारका धेरैजसो सदस्य टोल्स्टोयको इच्छाको विपक्षमा उभिएका थिए । सुरूमा पुस्तकबाट प्राप्त हुने आयको केही भाग परिवारलाई दिन राजी भएका टोल्स्टोय पारिवारिक किचलो हुन थालेपछि त्यो पनि नदिने अडानमा उभिए । कालान्तरमा यो विवाद उत्कर्षमा पुग्यो । अन्ततः स्वभावले ऋषिस्वरुप भएका ८२ वर्षीय लियो टोल्स्टोयले श्रीमतीका नाममा एउटा पत्र लेखेर एक रात सुटुक्क घर छाडे ।

    टोल्स्टोयको यो गृहत्याग करिब-करिब सिद्धार्थ गौतमले झन्डै दुई हजार छ सय वर्षअघि सम्पूर्ण राजपाठ छाडेर जङ्गल जानुभन्दा कठिन थियो । कारण, बुद्ध ज्ञान प्राप्त गर्ने दृढनिश्चयका साथ घरबाट निस्किएका थिए, टोल्स्टोय भने घर्किएको उमेरमा अनिश्चित भविष्यको पर्वाह नगरी जोखिमपूर्ण यात्रामा हिँडेका थिए ।

    आफ्नो जमिनदारी चटक्कै छाडेर यास्याना पोल्यानाबाट बग्गी चढेर निस्कँदा उनीसँग छोरी अलेक्सान्द्रासहित केही निकट सहयोगी मात्रै थिए । तिनैको साथ लिएर उनी नजिकैको तुला नामक सहर पुगे । त्यहाँबाट उनी १२ नम्बरको रेलमा चढे । रोस्तोभ सहर पुग्न आस्ताभोभा स्टेसनमा रेल परिवर्तन गर्नुपर्थ्यो । तर त्यो स्टेसनमा उत्रिएपछि उनी सिकिस्त बिरामी भए । स्टेसन म्यानेजर इभान ओजोलिनको क्वार्टरमा चिकित्सकलाई बोलाइयो । बिरामी जाँचअघि बिरामी पुर्जामा नाम लेख्नुपर्थ्यो । तर उनले आफ्नो नाम लेख्न अस्वीकार गर्दै ‘१२ नम्बर रेलको यात्री’ लेखे । र यही नामबाट उनको उपचार सुरू भयो ।

    ठन्डीले गर्दा उनलाई निमोनिया भएको रहेछ । आखिरमा यही रोगले थला परेर एक सातापछि अर्थात् सन् १९१० नोभेम्बर २० का दिन मानव धरतीमा उनले अन्तिम सास फेरे । धेरै लेखकले टोल्स्टोयको मृत्युसँगै रूसी समाजको एउटा कालखण्डको अन्त्य भएको उल्लेख गरेका छन् । किनकि उनको प्रस्थान विश्वसाहित्यका निम्ति सामान्य विषय थिएन । कम्युनिस्टले नरूचाउने व्यवहार गरे पनि उनको मृत्युपछि कम्युनिस्ट शासक भ्लादिमिर लेनिनले समेत उनको सार्वजनिक प्रशंसामा निकै शब्द अर्पण गरेका छन् । टोल्स्टोय उच्चवर्गका कुलीन जमिनदार थिए । उनको सेवामा तीन सय ५० जना दासदासी संलग्न थिए । सयौं गाउँ उनको अधीनमा चल्थे । जीवनमा उनले ‘कम्युनिस्टले घृणा गर्ने सबै किसिमका गलत काम’ गरेका थिए । यस्तो पारिवारिक पृष्ठभूमिबाट आएका टोल्स्टोयको प्रशंसा लेनिनले गर्नुको एउटै कारण थियो, उनका कृतिमा गरिएको सामान्य जनको चित्रण र आफ्ना कामदारका सन्तानका लागि उनले सुरू गरेका शिक्षा र सुधारका कार्यहरू । उनको विश्वप्रसिद्धि कसैले पनि उपेक्षा गर्न नसक्ने खालको थियो । रूसी जारसँग निकट सम्बन्ध भएका कारण टोल्स्टोयले उत्तराधिकारमा पाएको पुख्र्यौली सम्पत्ति हेरचाह गर्ने थलो नै यास्नाया पोल्याना थियो । त्यो ठाउँमा रहँदा टोल्स्टोयले अध्ययन, सैनिक जागिर तथा कतिपय देशको भ्रमणमा करिब ६५ वर्ष व्यतीत गरे । यहीँ बस्दा उनले वार एन्ड पिस, अन्ना करेनिना र डेथ अफ इभान इलिच जस्ता महानतम कृतिको रचना गरे । उनको ख्याति फैलिँदै जाँदा संसारका प्रसिद्ध लेखक, सङ्गीतकर्मी र कलाकारहरु उनलाई भेट्न यहीँ आउन थाले । शान्तिका पक्षमा पुस्तक लेख्ने टोल्स्टोय सम्भवतः पहिलो ख्यातिप्राप्त लेखक थिए ।

    ०००

    यास्नाया पोल्यानाको मूल भूमि बिर्योजा नामक अग्ला रुखहरुको जङ्गल बीचमा छ । सङ्ग्रहालय क्षेत्रभित्र फलफूल र तरकारी बारी छ । तबेलामा बाँधिएका घोडाहरु हिनहिनाइरहेको सुनिन्छ अनि पैदल यात्रा गरिरहेका झुन्डझुन्ड पर्यटकलाई स्थानीय गाइडले रूसी भाषामा कम्तीमा सय वर्षदेखि दुई सय वर्षअघिको कथा यसरी सुनाइरहेका हुन्छन्, मानौं ती हिजोकै कुरा हुन् । सङ्ग्रहालयको जीवन्त वातावरणले पर्यटकहरुका हृदयमा कहिल्यै नमेटिने छाप पारिदिन्छ । सङ्ग्रहालय वृत्तका दर्जनभन्दा बढी कलात्मक घरमा जमिनदारी ठाँटबाट र सबै किसिमका सुविधाको झलक पाइन्छ । मुख्य तीन ओटामध्ये एउटा घर पहिलैदेखि पाहुना घरका रुपमा प्रयोग हुँदै आएको छ । मुख्य पाहुना घरमा देश तथा विदेशका प्रख्यात व्यक्तिहरु बस्ने व्यवस्था गरिएको छ । केही परको अर्को घरमा उनलाई भेट्न आउने मध्यम खालका मानिसलाई बस्ने व्यवस्था मिलाइएको छ । यी घरहरुको बान्की र लस्करबाट टोल्स्टोयको आर्थिक सम्पन्नताको छनक पाइन्छ ।

    सङ्ग्रहालय क्षेत्रकै एउटा ठूलो घर हेर्दा सोचमग्न हुन कर लाग्छ । उनका कुल १४ मध्ये आठ जीवित सन्तान र कैयौं आफन्त टोल्स्टोयसँग यही घरमा बस्थे । यो घरका अनेक कोठा चहार्दै गाइडहरु उनको जीवन-कथाको जीवन्त व्याख्या गरिरहन्छन् ।

    टोल्स्टोयले महत्त्वपूर्ण कृतिहरुको रचना यहीँ गरेका थिए । त्यहाँ उनकी श्रीमती सोफियाले साफी गरेका पाण्डुलिपिका प्रति र उनका लेखकका हस्तलिखित पाण्डुलिपिहरु जस्ताको तस्तै राखिएका छन् । उनले घुम्ने बगैंचा, प्रयोग गरेका भाँडाकुँडा, पढ्ने पुस्तकहरु, लगाउने लुगा, पाहुना आउँदा बस्ने ठाउँ तथा विश्वप्रसिद्ध व्यक्तिहरु बसेर रमाइलो गरिरहेका तस्बिरहरू जताततै देख्न पाइन्छ । त्यो घरमा करिब २२ हजार पुस्तक राखिएका छन्, जसमध्ये लियो टोल्स्टोयलाई मनपर्ने पुस्तकहरुलाई भने थप महत्त्व दिएर अलग्गै राखिएको छ ।

    घरबाहेक टोल्स्टोयको विवाह अघिदेखि सञ्चालित एउटा विद्यालयलाई पनि जस्ताको तस्तै राख्ने प्रयास गरिएको छ । यो सामान्य विद्यालय थिएन । त्यहाँ कुनै पनि विद्यार्थी पास वा फेल हुँदैनथ्यो । किनकि त्यहाँ हरेक बालबालिकामा विशेष प्रतिभा हुन्छ भन्ने मान्यता राखेर पढाइन्थ्यो । त्यहाँ विशेष पाठ्यक्रम थिएन । विद्यार्थीहरुले पढून् भनेर टोल्स्टोयका कृतिहरु उनकै प्रकाशन यास्नाया पोल्याना नामक पत्रिकामा छापिन्थे । शिक्षामा अनौपचारिक पाठ्यक्रमको विकास नभइसकेको समयमा उनको उदार प्रयोग तत्कालीन रूसी जारले रूचाउने कुरै थिएन । त्यसैले पनि उनले विभिन्न समयमा अनेक शासकीय अवरोध झेल्नुपर्यो । आफूले अपनाएको इसाई धर्मका कमजोरीहरुबारे लेख्न र बोल्न पछि नपर्ने टोल्स्टोयमा समाजका केही चालचलनजन्य कुरीतिप्रति वितृष्णा थियो । यस्ता विचार प्रकट गरिएका उनका कैयौं कृति रूसमा नछापिएर स्विट्जरल्यान्डमा छापिए ।

    ०००

    ३४ वर्षको उमेरमा लियो टोल्स्टोयको उच्च घरानियाँ १६ वर्षीय किशोरी सोफिया आन्द्रेएभ्नासँग विवाह भयो । विवाहअघि नै उनले सोफियालाई आफूले सानैदेखि लेखेको डायरी पढ्न दिएका थिए, जहाँ आफू दाजुको पछि लागेर वेश्यालय पुगेको र वेश्यागमनपछि पश्चात्ताप मान्दै रोएको कुरा पनि लेखिएका थिए । त्यो डायरी पढेर सोफिया दुःखी भइनन् । टोल्स्टोयको दोस्रो डायरी पढेपछि उनी औधी दुःखी भइन् । किनकि त्यसमा उनले आफू पुनः वेश्यालय गएको, एकपल्ट सेन्ट पिटर्सबर्गमा जुवा खेलेको र घरमा काम गर्ने कम उमेरका गासा र दुन्यासासँग उठबस गरेको कुरासमेत उल्लेख गरेका थिए ।

    त्यो समयमा पुरूषका यस्ता क्रियाकलापलाई जमिनदारी क्षमता मानिन्थ्यो । त्यसैले त सोफिया टोल्स्टोयसँग विवाह गर्न राजी भइन् । विवाहपछि भने टोल्स्टोय विगतका सबै गलत आचरण त्यागेर लेखनमा व्यस्त भएको देखिन्छ । सोफियाको टोल्स्टोयसँग मात्र नभई उनका कृतिहरुप्रति पनि अगाध प्रेम थियो । त्यसैले सङ्ग्रहालयभरि उनले साफी गरेका डायरीहरु यत्रतत्र देखिन्छन् । भित्ताभरि टाँगिएका अनेक तस्बिरले बताउँछन्, टोल्स्टोयलाई भेट्न आउने विश्वप्रसिद्ध व्यक्तिहरुको खातिरदारी पनि त्यहाँ राम्रैसँग हुन्थ्यो । जीवनको उत्तरार्द्धमा टोल्स्टोय दम्पतीको सम्बन्ध बिग्रियो ।

    सन् १९८८ मा प्रकाशित अमेरिकी लेखक ए एन विल्सनको पुस्तक ‘टोल्स्टोय : अ बायोग्राफी’मा यी दम्पतीको सम्बन्धको पछिल्लो उतारचढावको विषय पनि समेटिएको छ । विल्सनले दाबीका साथ भनेका छन्, ‘विश्वका साहित्यिक व्यक्तित्वहरुमध्ये सबैभन्दा दुःखद वैवाहिक जीवन कसैको थियो भने त्यो टोल्स्टोयकै थियो ।’

    तर वार एन्ड पिस उपन्यासका १६ हजार पृष्ठ सोफियाले साफी गरेको देख्दा भने यस्ता कुरा अतिरञ्जित हुन् कि झैं लाग्छ ।

    हरेक पटक यास्नाया पोल्याना पुग्दा टोल्स्टोयजस्ता धनाढ्य जमिनदारले कसरी यस्ता महानतम कृति लेखे होलान् भनेर म गम खान्छु । पुस्तकमा स्थानीय भाषा, उखानटुक्का र प्राचीन आहानमा उनको यति राम्रो दख्खल छ कि उनले यस्ता कुरा कसरी जाने होलान् भन्ने जिज्ञासा जागेर आउँछ । सबैभन्दा अनौठो कुरा त के भने उनका पुस्तकमा अत्यन्तै गरिबदेखि उच्च वर्गसम्मका सयौं पात्र अटाएका छन् ।

    खास कुरा के रहेछ भने टोल्स्टोय आफ्ना कृतिमा समग्र रुपमा रूसी समाजको चित्रण गर्न चाहन्थे । त्यसैले हरेक दिन साँझ वा बिहान उनी आफ्नो मौजाबाट सुटुक्क बाहिरिन्थे । सामुन्नेको मूल बाटोबाट मस्को जान हिँडिरहेका यात्रुहरुको पछि लाग्थे । उनीहरूसँग घण्टौं हिँड्थे र उनीहरुका कथा सुन्थे । साँझ उसैगरी मस्कोबाट फर्किरहेका यात्रुहरुको पछि लागेर तिनका कुरा सुन्दै र तीसँग बातचित गर्दै आफनो मौजा फर्किन्थे । बिहान हिँडेका टोल्स्टोय कुनै बेला मध्य दिउँसोमात्र घर फर्कन्थे । साँझ हिँडेका उनी राति अबेरसम्म बाहिरै बरालिन्थे । सामान्य मानिसझैं आफ्नो परिचय लुकाएर हिँड्ने शैलीले गर्दा सामान्यजन, मजदुर र किसानको भाषा र कथालाई राम्ररी पक्रिन उनलाई सजिलो पर्यो । यस्ता भाषाहरु उनले घर र खेतमा काम गर्ने कामदारबाट पनि सिकेका थिए ।

    उनका पुस्तक पढ्दा एउटै व्यक्तिले विविध वर्गका विविध व्यक्तिका कथाव्यथाको वर्णन र चित्रण गर्न कति मिहिनेत गर्नुपर्यो होला भन्ने कल्पना गर्दा उनीप्रतिको आदरभाव झनै बढ्छ ।

    सन् २०१४ मा रूस भ्रमण गर्नुभएका साहित्यकार कृष्ण धरावासी र अमर न्यौपानेको पनि मेरोजस्तै जिज्ञासा थियो । टोल्स्टोयले समाजका यति धेरै पात्रहरूमा कसरी दृष्टिभेदन गरे होलान् ? कसरी यति विविध समाज र पात्रहरुको वर्णन र चित्रण गर्न सके होलान् आदि इत्यादि । त्यसअघि रूस आउनुभएका आख्यानपुरूष ध्रुवचन्द्र गौतम र गोविन्दराज भट्टराईले पनि यस विषयमा जिज्ञासा राख्नुभएको मलाई सम्झना छ ।

    यसैगरी सन् २०१६ को ग्रीष्मयाममा साहित्यकार धनराज गिरी र अश्विनी कोइरालाको रूस यात्राका क्रममा पुनः यास्नाया पोल्यानाको भ्रमण गर्ने अवसर मिल्यो । कोइरालाले टोल्स्टोयको जमिनदारीलाई नजिकबाट अनुभव गरेपछि हामीले यही जिज्ञासा हाम्री गाइड युवतीलाई राखेका थियौं ।

    अहिले पनि मलाई समाधिस्थल वरिपरि घुम्दा कतै टोल्स्टोय केही लेख्ने मनसुवाले यतै वरिपरि सुस्तरी हिँडिरहेका छन् कि झैं प्रतीत हुन्छ । अनि प्रत्येक पल्ट यास्नाया पोल्याना पुग्दा मलाई पवित्र तीर्थस्थलको यात्राबाट चित्त शुद्ध भएर अलिकति सिर्जनात्मक ऊर्जा थपिएको अनुभूति हुन्छ ।

    (जीवा लामिछानेको यात्रा संस्मरण ‘देश देशावर’बाट)

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • तुलसी दाहाल

    Share a little biographical information to fill out your profile. This may be shown publicly.
    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button