मध्यराति ट्रमा सेन्टरले अक्सिजन सकियो भनेपछि १ सयभन्दा बढी बिरामी र कुरुवाको बिचल्ली

Above Article Ad
  • Above Article Content Ad
    1. काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरमा यतिखेर काेराेना संक्रमितहरूकाे उपचार भइरहेछ । तर अक्सिजन अभाव र अन्य अस्तव्यस्ताका कारण कोरोना संक्रमितकाे ज्यान जान थालेपछि अन्य संक्रमित तथा कुरुवाहरू विचलित बनेका छन् । सँगै उपचार भइरहेका संक्रमितहरुको अक्सिजनको मात्रा नपुगेर एकाएक मृत्यु हुन थालेकाे दृश्यले अन्यलाइ झन् बिचलित बनाउने नै भयाे ।

    कोरोना संक्रमित बिरामीका धेरै कुरुवाहरूले अक्सिजन अभावमा आफ्नै छेउमा उपचार गराइरहेका संक्रमितको मृत्यु भएको देखेको सुनाउनुभयो । काठमाडौंबाटै कोरोना संक्रमित आफ्नो दाइलाई राति भर्ना गराउन र अक्सिजन दिलाउन अत्यन्तै सकस परेको एक कुरुवाको भनाइ थियाे ।

    आफ्नै आँखाअगाडि बिरामीहरुको मृत्यु भएकाे देख्दा आफ्ना बिरामीहरूको पनि मृत्यु हुने हाे कि भन्ने डरले कुरुवाहरू अत्याधिक मानसिक पीडाबाट गुज्रिनुपरेको बताउँदै थिए ।

    एक कुरुवा भन्नुहुन्छ, ‘एक सिकिस्त कोरोना संक्रमित आउनुभएको थियो, बेलुका उहाँको अक्सिजन अभावका कारण हाम्रै अगाडि निधन भयो । यहाँका डाइरेक्टर साबहरुले अक्सिजन ल्याउन धेरै प्रयासरत हुनुहुन्थ्यो । तर अक्सिजन आइपुगेको थिएन । ती संक्रमितका आफन्तहरु पनि आफैँ अगाडि बढेर अक्सिजन ल्याउन खोजिरहनुभएको थियो । ट्रक लोड पनि आएको थियाे । मुख्यगरी आइसीयू र वार्डहरुमा आउने अक्सिजन थिएन । अक्सिजन प्लाण्टमा अक्सिजन आइरहेको थिएन । यता मेरो दाइको पनि अवस्था उही थियो । हामी बेड पाउने आशामा थियौँ । हामीले ५ घण्टामा पनि बेड पाएनौं । अक्सिजन पनि पाएनौं । डेड बडी निकाल्नु परेकाले ५ घण्टामा दाइको स्थिति गम्भीर बनिसकेकाे थियो । डाइरेक्टर साबहरुले एउटा सिलिण्डर ट्याङ्क दिनुभएको थियो । तर त्यो सकियो । त्यसपछि आफ्नो लागि मैले आफैँ अक्सिजनको व्यवस्था गरेँ । मैले चिनेको एक क्षेत्रपाटीको क्लिनिकमा मागेर ल्याएँ । त्यो व्यवस्था नभएको भए मेरो दाइको पनि हालत उही हुने थियो । यताको अस्पताल र उताको अस्पतालको अक्सिजनले मात्रै उहाँ दाइलाई बचाउन सकेँ । अहिले दाइ आइसीयूमा हुनुहुन्छ ।’

    Article inline ad #1
  • यद्यपि बिहीबार बिहानसम्ममा भने अस्पतालको अनेक प्रयासले अक्सिजनको अभाव हल भएको उहाँको भनाइ छ । त्यसअघि बुधबार रातिको घटनालालई चाहिँ उहाँले अक्सिजनको मात्रै अभाव नभएर व्यवस्थापनको पनि लापरबाही भएको बताउनुहुन्छ । त्यो समय लिफ्ट नचलेको र अक्सिजन सिलिण्डरहरु आफैँ काँधमा बोकेर आइसियू कक्षसम्म तलमाथि गर्नुपरेको उहाँले सुनाउनुभयो । त्यस्तै औषधि किन्न चिकित्सकहरुले लगाउने तर औषधि ल्याएपछि कुन कसरी खुवाउनुपर्ने हो, त्यो नभनेको उहाँको आरोप छ । उहाँले सँगैको बिरामीलाई त्यो खालको व्यवहारले एक बिरामीको मृत्यु भएको बताउनुभयो ।

    ‘सँगै बिरामी आमा हुनुहुन्थ्यो । उहाँका आफन्तलाई औषधि ल्याउन लगाउनुभयो चिकित्सकहरुले,’ उहाँले सुनाउनुभयाे, ‘तर के कति र कसरी खुवाउने चाहिँ भन्नुभएन । बिरामीको कुरुवा औषधि ल्याएर बोकिरहनुभएको थियो । औषधि के गर्ने भनेर बस्दाबस्दै उहाँको आमाको निधन भइसक्यो । जबकि चिकित्सकहरु नै आउनुभएन । बिरामीलाई औषधि दिनुपर्ने थियो कि ? यसरी अन्यमनस्क भएर पनि धेरैले धाेका पाइरहेका छन् ।’

    बिरामी फिर्ता लैजान उर्दी

    त्यस्तै बुधबार राति नै अक्सिजन अभावले आफ्नो कोरोना संक्रमित बिरामीलाई अफ्ठ्यारो परेको र अन्य संक्रमितहरुको भने मृत्यु नै भएको ती कुरुवाले सुनाउनुभयो । त्यस राति अस्पतालका डाक्टरहरुले बोलाएर अस्पतालमा अक्सिजन रित्तिएको र आफ्नो बिरामी फिर्ता लैजान उर्दी गरे । कि त अक्सिजन ल्याइदिनु भनेर सूचना गरेको उहाँले सुनाउनुभयो ।

    Article inline ad #2
  • उहाँले भन्नुभयो, ‘राति हामीलाई बोलाएर अस्पतालले भन्यो कि हाम्रो अस्पतालको अक्सिजन प्लान्ट कोल्याप्स भयो । हामी सक्दैनौँ अब । तपाइँहरुको बिरामी लैजानुहोस्न, कि त हामीलाई आफैँ अक्सिजन ल्याइदिनुस् । अनि हामी सबै कुरुवाहरु आत्तियौँ । सबै दौडिएका थियौँ, अक्सिजन कताबाट ल्याउने भनेर । अब बिरामी कता लैजाने भनेर हामी भयावह स्थितिमा थियौँ । कोल्याप्स भएकै कारणले मेरै नजिकको ११ नम्बर वार्डको एक कोरोना संक्रमित बिरामीको राति नै निधन भइसकेकाे थियाे । उहाँ ठाउँको ठाउँ निधन भयो, जाबकि राम्राे अवस्थामा नै उहाँ आउनुभएको थियो ।’

    अक्सिजन अभावमा बिरामीको मृत्यु हुनु सरकारको दोष भएको भन्दै उहाँले आक्रोश व्यक्त गर्नुभयो । बिरामीका कुरुवाले कसरी अक्सिजन ल्याउन सकिन्छ र ? उहाँले प्रश्न छ । उहाँले भन्नुभयो, ‘हामी बिरामी कुरुवाले कहाँबाट ल्याउने अक्सिजन ? कसरी ल्याउने ? देशैभरि अभाव छ अक्सिजनकाे, यत्रा अस्पतालले जाेहाे गर्न नसकेकाे खक्सिजन हामी बबुरा कुरुवाले कसरी लिने ? त्यो पनि एक सिलिण्डर अक्सिजनले कति नै पुग्छ र ? त्यो त सरकारको काम हो, देश-विदेश जहाँबाट भए पनि जनताका लागि अक्सिजन ल्याउनुपर्यो ।’

    अक्सिजनको अभावका कारण वार्डका सबै संक्रमित बिरामीहरु नीलो भइसहेको उहाँले देख्नुभएकाे थियो ।

    गम्भीर संक्रमितसँगै सामान्यलाई राखेर उपचार

    त्यस्तै अनामनगरबाट कोरोना संक्रमित छोराको उपचार गर्न ल्याएका एक बाबुले आफ्नो बिरामी गम्भीर नभए पनि अक्सिजनको भने अत्यन्तै अभाव भएको बताउनुभयाे । ‘मेरो छोराको कोरोना पोजेटिभ भए पनि भम्भीर त छैन,’ उहाँले सुनाउनुभयाे, ‘तर अक्सिजनको अभाव भने कति हो कति देखे यहाँ । आँखै अगाडि अक्सिजनको अभावले मान्छे मरेको देखेँ । साह्रै दुःखलाग्दो भयो ।’

    त्यस्तै, सर्वसाधारणको लागि एक गम्भीर समस्या भनेकाे कोरोना संक्रमित भएका गम्भीर अवस्थाका पोजेटिभ र नर्मल अवस्थाका पोजेटिभ दुवैलाई एकै ठाउँमा राखेर उपचार गरिनु रहेकाे पनि उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘पोजेटिभ भएर उपचारका लागि यहाँ आइयो तर गम्भीर र नर्मल अवस्थाका संक्रमितलाई एकै ठाउँमा राखेर उपचार हुन्छ ।’

    फिजिकल र सोसियल डिस्टान्समा राखेर उपचार गर्दा हुँदैन ? भनेर सोध्दा डाक्टरहरूले आफूहरु पनि समस्यामा नै रहेकोले भुइँमै उपचार गर्न बाध्य भएको जवाफ दिएको उहाँ बताउनुहुन्छ ।

    नर्मल बिरामीलाई अस्पतालले घर लैजान दबाव दिँदा झन् समस्यामा परेको गुनासो गर्नुभयो । ‘बल्लतल्ल उपचार गराउन अस्पताल ल्याएको, फेरी घर लैजाँदा घरबेटीले घरभित्र पस्नै दिँदैन,’ चिन्तीत हुँदै उहाँले सुनाउनुभयो । उता आफ्नो घर लैजानु भने गाउँपालिकाले नदिने उहाँको भनाइ थियो ।

    उपचार पाउनु नै ठूलाे कुरा

    त्यस्तै कोरोना संक्रमित आफन्तलाई ल्याएर उपचार गराइरहनुभएकी कोटेश्वरकी बिना महर्जन अस्पतालले राम्रै उपचार गराइरहेको बताउनुहुन्छ । तर अक्सिजन भने अर्कै ठाउँबाट खाजेर ल्याएर उपचार गराइरहेको उहाँकाे भनाइ छ । आफूले २७ गते संक्रमितलाई अस्पताल ल्याएको, त्यो दिनदेखि नै बाहिरबाटै आफैँले अक्सिजन ल्याइरहेको उहाँ बताउनुहुन्छ । ‘जे हाेस् यहाँ उपचार पाउनु नै ठूलाे कुरा भएकाे छ,’ उहाँ भन्नुहुन्छ ।

    त्यस्तै अर्का दुई युवा कोरोना संक्रमित आमालाई गाडीमा लिएर आइपुग्दै हुनुहुन्थ्यो । उहाँहरुले आमाको अक्सिजन लेभल डाउन हुँदै गरेको, साथै दिइरहेको अक्सिजन पनि सकिन लागेको भन्दै चिन्तिन देखिनुहुन्थ्यो। अस्पतालमा बेड र अक्सिजन केही नपाएकोले ट्रमा सेन्टरमा आएको तर यहाँ पनि पाउने सम्भावना कम रहेको उहाँहरूकाे भनाइ थियाे ।

    एकै रातमा ४ जनाकाे मृत्यु

    बुधबार रातिबाट बिहीबार बिहानसम्म अक्सिजनको मात्रा नपुगेर ४ जना कोरोना संक्रमितको मृत्यु भएको ट्रमा सेन्टरका सुचना अधिकारी अर्जुन प्रसाद भेटवालले बताउनुभयो ।

    उहाँले मुलुकभर अक्सिजनको अभाव भएकोले राष्ट्रिय ट्रमा सेन्टरमा पनि अक्सिजन अभाव भएको बताउनुभयो । ट्रमा सेन्टर ठूलो सरकारी तहको अस्पताल भएकाले ठूलो मात्रामा कोरोना संक्रमितहरु आउने तर उहाँहरुलाई हाई प्रेसरमा अक्सिजन दिनु पर्ने भएकाले अक्सिजन अभाव भएको उहाँकाे भनाइ छ ।

    उहाँले भन्नुभयो, ‘यो ठूलो सरकारी अस्पताल हो । यहाँ ठूलै मात्रामा कोरोना संक्रमितहरु आउनुहुन्छ । उहाँहरुलाई हाई प्रेसरमा अक्सिजन दिनदुपर्ने हुन्छ । सोही अक्सिजनको मात्रा नपुगेर बिरामीहरूको मृत्यु हुनसक्छ । हाम्रोमा लिक्यूइड अक्सिजन प्लान्ट छ । तर त्यसले ३ दिन थाम्यो । अहिले सिलिण्डर अक्सिजन मार्फत काम चलाइरहेका छौँ ।’

    ट्रमा सेन्टर कोरोना संक्रमितको लागि मात्रै प्रयोग गर्न सरकारले सञ्चालनमा ल्याएको ३ दिन मात्रै पुग्दै गर्दा त्यहाँको अक्सिजन प्लाण्टले ३ दिन मात्रै थामेपछि अहिले अक्सिजन अभाव चुलिएकाे हाे । जेनतेन सिलिण्डर मार्फत संक्रमितहरुलाई अक्सिजन दिनुपरेको उहाँकाे भनाइ थियाे । हाल अक्सिजन पूर्ण रुपमा सकिसकेको स्थिति भने नरहेको उहाँले बताउनुभयो ।

    १०० भन्दा बढी बिरामी अक्सिजनको सहारामा

    ‘अक्सिजन अहिले नै नसकिए पनि भरे नै अथवा एक घण्टा, २ घण्टामै पनि सकिन सक्छ,’ सुचना अधिकारी भेटवालले भन्नुभयाे, ‘त्यसैले आफूहरुले सार्वजनिक रुपमा अक्सिजन आपूर्तिका लागि आह्वान गरेका हाैँ ।’ उहाँले ट्रमा सेन्टरमा १०५ जना कोरोना संक्रमित अक्सिजनको सहारामा रहेको र १० जना संक्रमितको अवस्था जटिल भएकाले उहाँहरुलाई भेण्टिलेटरमा उपचार गराइहेको पनि बताउनुभयो । तत्कालै अक्सिजन सकिए ती सबैको मृत्यु हुनसक्ने उहाँकाे भनाइ छ ।

    उहाँ ट्रमा सेन्टरका कोरोना संक्रमित उच्च जाजेखिममा रहेको बताउनुहुन्छ । तर ट्रमा सेन्टरले विगत ३ दिनदेखि नै सबै व्यवस्था मिलाउन अहोरात्र खटिरहेको पनि बताउनुहुन्छ । सेन्टरका निर्देशक आफैँ आफ्ना सहयोगी तथा अन्य सहयोगीहरुसँग अक्सिजन जोहो गर्न लागि परेको उहाँले बताउनुभयो ।

    सीसीएमसीकाे सिण्डिकेटले झन् समस्या

    ‘कहिले अक्सिजन हुन्छ, रेगुलेटर हुँदैन । कहिले अक्सिजन हुने तर सिलिण्डर नहुने जस्ता समस्या आइरहेका छन्,’ उहाँले भन्नुभयो, ‘राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक विगत ३ दिनदेखि यही हुनुहुन्छ । उहाँ राति पनि यही हुनुहुन्छ । उहाँका ड्राइभर, साथी-सहयोगी सबै भएर कहाँ अक्सिजन पाइन्छ, हार गुहार गरेर जाेहाे गर्दै हुनुहुन्छ । अब धेरै अक्सिजन हुने व्यक्तिहरु र उद्योगहरुले सिलिण्डर स्टक गरेकोले सिलिण्डर अभाव भएको हुनसक्छ । अर्को, नेपाल सरकारको सीसीएमसीले सीण्डिकेटले जस्तो कोटा प्रणाली लागु गर्दा पनि अक्सिजनका लागि अभाव भएको हो ।’

    सरकारी अस्पतालमा धेरै सिकिस्त र धेरै संख्यामा अक्सिजन आवश्यक पर्ने बिरामी आउने भएकाले सरकारले अक्सिजन लिनका लागि सिफारिस लिनुपर्ने बाध्यता हटाउनुपर्ने उहाँले माग राख्नुभयो । प्रहरी, नागरिक अगुवा, समाजसेवी, उद्योगी, सञ्चार माध्यमजस्ता सबै क्षेत्रबाट सहयोग भए यो समस्याबट पनि बाहिर निस्कन सकिने सुचना अधिकारी भेटवालकाे भनाइ छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button