खाजा के खाने त ???

Above Article Ad
  • Above Article Content Ad
  • म सानो हुँदा आमाले खाजाका लागि कहिले मकै भटमास भुटिदिनुहुन्थ्यो भने कहिले गहुँको रोटी र तरकारी बनाइदिनुहुन्थ्यो । त्यस्तै, कहिले सुक्खा रोटी र दही हुन्थ्यो भने चिउरा र तरकारी, दूध र चिउरा आदि त दिन बिराएरजस्तो खाइन्थ्यो । सानो हुँदा लगभग यस्तैयस्तै खाजा खाइयो । त्यतिबेला चाउचाउ, पाउरोटी, बिस्कुट खान पाए हामी केटाकेटीलाई औधी खुसी लाग्थ्यो ।

    बिरामी भइयो भने त पाउरोटी खान पाइन्छजस्तो लाग्थ्यो । ४-५ कक्षा पढ्ने हुँदा आफ्नो कक्षाका साथीहरूले टिफिनमा चाउचाउ किनेर खाएको देख्दा हामीले पनि खान पाएझैँ हुन्थ्यो । कक्षा चढ्दै गएर ९-१० कक्षासम्म आइपुग्दा त स्कुलमा मैले पनि प्राय: चाउचाउ नै किनेर खाएँ । चाउचाउ, ढुङ्ग्री, कुरमुरे, हम्टी-डम्टी, चटपटे, चकलेट र चोकोफन भनेपछि हामी मरिहत्ते गर्थ्यौं । तथापि त्यतिबेलासम्म हाम्रा घरमा भने खाजा भन्नेबित्तिकै ‘चाउचाउ उमाल्ने’ चलन आइसकेको थिएन ।

    मेरै घरको कुरा गर्ने हो भने ती/चार महिनामा एक पल्ट चाउचाउ खाइन्थ्यो होला । तर, आज अवस्था फेरिएको छ । आज शहरदेखि गाउँसम्मका हरेक घरमा खाजा भन्नेबित्तिकै कि त चिया बिस्कुट, चिया पाउरोटी, चाउचाउ या पास्ता बन्न थालेको छ । तयारी चाउचाउ बिक्रीको मात्र तथ्यांक हेर्ने हो भने पनि यसको खपत अत्यधिक मात्र नभई बढ्दोसमेत रहेको देख्न सकिन्छ । विश्व तयारी चाउचाउ संगठनका अनुसार संसारभरि नै प्रतिव्यक्ति तयारी चाउचाउ खपतका हिसाबले नेपाल तेस्रो स्थानमा छ । नेपाली नागरिकले प्रतिव्यक्ति वार्षिक ५३.३ वटा तयारी चाउचाउ खान्छन् ।

    Article inline ad #1
  • तयारी चाउचाउकै कुरा गर्ने हो भने व्यक्तिगत रूपमा म यसलाई पत्रु खाना भनेर अपमान गर्न चाहन्नँ । बाढीपहिरो र भूकम्पका बेला यिनै चाउचाउ र बिस्कुट खाएर नै धेरै नेपालीले पेट भर्दै आएका छन् । आपत्काल र अनिश्चितताका बेला यस्तै तयारी खानाले खाली पेटमा राहत पुर्‍याउँदै आएको कुरा नकार्न सकिन्न । तथापि यो धेरै प्रशोधन गरिएको तथा पोषणको घनत्व निकै कम भएको खानेकुरा भने पक्कै हो ।

    पोषणका हिसाबले हामीलाई आवश्यक पर्ने राम्रो किसिमको कार्बोहाइड्रेट, प्रोटिन, खनिज तथा भिटामिन अत्यन्त न्यून रहेको तर कम खानुपर्ने सोडियम (नुन) र स्याचुरेटेड फ्याट धेरै रहेका खानेकुराहरूमा चाउचाउ पर्दछ । नेपाली बजारमा पाइने प्राय: बिस्कुट पनि शुद्ध मैदाका नै बढी छन् जसमा चिल्लो पदार्थ तथा चिनीको मात्रा प्राय: अत्यधिक देखिएको छ । यसर्थ यिनीहरू पनि सकेसम्म कम खानुपर्ने खानेकुरा भने पक्कै हुन् ।

    असाध्यै हतार भएका बेला या आपत्कालका बेला खाए पनि दैनिक खाजाकै रूपमा यिनलाई उपभोग गर्नु स्वास्थ्यको दृष्टिकोणले उचित मानिँदैन । अस्वस्थकर मानिनुका दुई कारण छन् । पहिलो कारण यिनीहरूमा पोषक तत्त्वको घनत्व कम हुन्छ भने अर्को कारण विभिन्न एडिटिभ्स हालेर यिनीहरूलाई जिब्रोले मन पराउने बनाइएका हुन्छन् । विभिन्न एडिटिभ्स हालेर मन पराउने बनाइएका कारण पटकपटक खान मन लागिरहन्छ ।

    विद्यालय जाने बालबालिकाले दैनिक खाजाका रूपमा नै अत्यधिक प्रशोधन गरिएका तथा न्यून पोषण भएका यस्ता खानेकुरा खाइरहँदा त्यसले कुपोषण मात्र बढाइरहेको मात्र छैन, दीर्घकालीन रूपमा खाने शैलीमा नकारात्मक असर पारेको, दीर्घरोगहरूको वृद्धिमा पनि सहयोग पुर्‍याइरहेको र प्लास्टिकजन्य फोहोरसमेत बढेको छ । त्यस्तै, पोषण मात्र नभएर खाद्य स्वच्छताको विषय पनि यहाँ सान्दर्भिक हुन्छ ।

    Article inline ad #2
  • हामीकहाँ खानेकुराको गुण मापन गर्ने संयन्त्र भए पनि त्यति बलियो रहेको देखिँदैन । सायद त्यसै कारण बजारमा मिति सकिएका तयारी खानेकुराहरूमा नयाँ मिति टाँसेर बिक्रीवितरण गरिएका समाचार बेलाबखत आइरहन्छन् । तयारी खानेकुरामा हालिने रसायनहरू मापदण्डभित्र छन् छैनन्, तिनमा अखाद्य पदार्थहरूको मिसावट छ कि छैन भनेर नियमित अनुगमन नहुने हुँदा यस्ता खानेकुराको गुणस्तर तथा स्वच्छतामा शंका गर्ने ठाउँहरू पनि प्रशस्तै छन् ।

    पिज्जा, वर्गर, चाउमिनलगायतका चिल्लो तथा नुन धेरै र पोषण कम भएका खानेकुरा, अझ साथमा कोकफेन्टाजस्ता पोषणले शून्य तर चिनीले भरिपूर्ण पेयपदार्थ हाम्रा दैनिकी बन्न थालेका छन् ।

    अचेल त झन् शहरी क्षेत्रमा खानेकुरा अनलाइनबाट मगाउने चलन बढेको छ । पसल या रेस्टुरेन्टसम्म जान पनि नपर्ने अनि जिब्रो लठ्याउने खाजा घरमै आइपुग्ने । पिज्जा, वर्गर, चाउमिनलगायतका चिल्लो तथा नुन धेरै र पोषण कम भएका खानेकुरा, अझ साथमा कोकफेन्टाजस्ता पोषणले शून्य तर चिनीले भरिपूर्ण पेयपदार्थ हाम्रा दैनिकी बन्न थालेका छन् । यसले गर्दा मोटोपना बढ्दै गएको मात्र छैन, घरमै खाजा मगाउँदा प्रयोग हुने प्लास्टिक र कागजको प्याकेजिङले वातावरणलाई हानिसमेत पुर्‍याइरहेको छ ।

    त्यसो भए के खाजा खाने त ?

    थोरै तयारी गर्ने अनि सचेत हुने हो भने हामीसँग खाजाका थुप्रै विकल्प छन् । केही खाजाका उदाहरण म यहाँ दिन चाहन्छु: चिउरा तरकारी । चिउरा सस्तो र उपलब्धताको हिसाबले जहाँसुकै सहजै पाइने खानेकुरा हो । चिउरामा प्रशस्त कार्बोहाइड्रेट, आइरन, फस्फोरस आदि पाइन्छ । चिउरासँगै गेडागुडी जस्तै: चना, केराउ, विभिन्न रङ र आकारका बोडी तथा सिमी, राज्मा आदिको तरकारी र साथमा केही सलाद राख्न सके अत्यन्तै उत्तम हुन्छ ।

    दिउँसो तरकारी पकाउने समय नभएको खण्डमा बिहानै पकाएर सुरक्षित रूपमा पनि राख्न सकिन्छ । त्यस्तै, अर्को सजिलो खाजा उसिनेको सखरखण्ड, आलु, तरुल आदि पनि हो । हाम्रो भान्छामा यी कन्दमूलहरू हेपिएका छन्, जुनै निकै दु:खद छ । यिनको साथमा एक-दुई मौसमी फल खान सके अझ राम्रो । त्यस्तै अर्को बहुउपयोगी खाजा चना हो ।

    चना भुटेर, हलुका पकाएर वा पिठो बनाई रोटीको रूपमा बनाउन सकिन्छ । मकै भटमास र गुन्द्रुकको अचार अर्को खाजा हो । मकै, भटमास, बदाम आदि त भुटेर बट्टामा राख्न पनि सकिन्छ । शहरी क्षेत्रमै पनि गुलियो जाम र मैदाको पाउरोटी खानुभन्दा पिनट बटर र सग्लो गहुँको पाउरोटी खाजाको रूपमा खान सकिन्छ, जुन सजिलै तयार पनि हुन्छ । चटपटे नै बनाउन परे पनि त्यसमा चाउचाउ र अनावश्यक रङ नराखी गाजर, धनियाँ, काक्रो, चना, हरियो मकै, बदाम आदि राखेर पोषिलो बनाउन सकिन्छ ।

    त्यस्तै प्याज, धनियाँ तथा सागसब्जी राखी कोदो तथा फापरका गिलोरोटी (पानीरोटी) बनाउन पनि सकिन्छ । त्यस्तै, हरियो मकैको मौसमका बेला हरिया मकै उसिन्ने, हरियो भटमास उपलब्ध हुँदा हरियो भटमास उसिन्ने, मौसमी आँप सस्तो हुँदा आँप खानेजस्ता थुप्रै अवसर हामीसँग नभएका होइनन् ।

    म भोक लाग्नुलाई एउटा अवसरको रूपमा लिन्छु । त्यस्तो अवसर जहाँ हामीले हाम्रो मानसिक तथा शारीरिक स्वास्थ्यलाई प्रवर्द्धन गर्ने प्रकारका खानेकुरा खान सक्छौँ । हरेक पटक पौष्टिक तत्त्व नगण्य भएका खानेकुरा खानु एउटा गुमेको अवसर हो, जहाँ तुलनात्मक रूपमा स्वस्थकर र पोषणले भरिपूर्ण खानेकुरा खान सकिन्थ्यो । तसर्थ सकेसम्म शरीरलाई तन्दुरुस्त, क्रियाशील र निरोगी बनाउन मद्दत गर्ने खानेकुरा खाएर हामीले यो अवसरको सदुपयोग गर्दै पोषिला खाना तथा खाजा खानु अत्यन्त आवश्यक छ ।

    लेखक खाद्य विज्ञान तथा पोषणकी विद्यार्थी हुन् ।

    साभार :- शिलापत्र.com

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button